
काठमाडौँ: नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य गर्ने भएका छन्।
दुवै संस्थाले नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई एनसीएचएलको नेपालपे क्यूआर र अन्य क्यूआर व्यापारिक स्थानहरूमा मास्टरकार्ड प्रयोग गरी सजिलै मोबाइल क्यूआर स्क्यान गरेर भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने सहमति गरेका छन्।
यस सहकार्यले मास्टरकार्ड प्रयोगकर्तालाई नेपालपे क्यूआर स्क्यान गरेर सामान तथा सेवाको भुक्तानी गर्न सहज बनाउनेछ। एनसीएचएलका अनुसार हाल नेपालमा नेपालपे क्यूआर र अन्य इन्टरअपरेबल क्यूआर नेटवर्कमा करिब १० लाखभन्दा बढी मर्चेन्ट आबद्ध छन्। मास्टरकार्डले विश्वभर तीन अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ।
एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो। यसले इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टरबैंक पेमेन्ट सिस्टम, नेसनल पेमेन्ट स्विच, कनेक्टआईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ।
