Tuesday, May 26

एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका: शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।

मन्त्री भट्टराईले विद्यालय केन्द्रित खोप केन्द्रबाट दिइने भएकाले लक्षित किशोरी सबैले आ–आफ्नो विद्यालय वा नजिकैको विद्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोधसमेत गरेकी छिन्। सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीलाई खोप अभियान सञ्चालन गर्दैछ।

आगामी वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नियमित खोप सेवामा समावेश गदै कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइने सरकारको तयारी छ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनेमा पाठेघरको क्यान्सर पहिलो कारण भएको तथ्य विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *