Monday, June 15

एन्टिबायोटिकको दुरुपयोग र स्वास्थ्यमा पर्न सक्ने संकट

एन्टिबायोटिक औषधिको प्रयोग र खपतमा कुनै कमी छैन। सामान्य स्वास्थ्य समस्यामा पनि मानिसहरूले एन्टिबायोटिक खाने बानी यति बढेको छ कि यसले भविष्यमा ठूलो स्वास्थ्य संकट निम्त्याउने संकेत देखिएको छ। जथाभावी र बिना सोचविचार प्रयोग गरिने यस्ता औषधिले तत्काल राहत दिए पनि दीर्घकालमा साना रोगले पनि ज्यानै लिने जोखिम बढाउँछ। यो समस्या केवल औषधि खाने बानीमा मात्र सीमित छैन, अधुरो प्रयोग र गलत तरिकाले छोड्ने प्रवृत्तिले झन् ठूलो खतरा उत्पन्न गरिरहेको छ।

# एन्टिबायोटिकको दुरुपयोगले निम्त्याउने समस्याहरु 

अधुरो डोजको खतरा:
धेरैजसो मानिसहरू बिरामी निको भएको महसुस भएपछि एन्टिबायोटिकको पूरा डोज नखाई बीचमै छोड्छन्। यो बानीले रोग जटिल भएर फर्कन सक्छ। शरीरमा बाँकी रहेका ब्याक्टेरियाहरू जीवित रहन्छन् र पुनः वृद्धि भएर संक्रमणलाई सक्रिय बनाउँछन्। यस्तो अवस्थामा ब्याक्टेरियाले औषधिविरुद्ध प्रतिरोध (एन्टिबायोटिक रेसिस्टेन्स) विकसित गर्न सक्छ, जसले उपचारलाई झन् कठिन बनाउँछ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स:

जब एन्टिबायोटिक बीचमै छोडिन्छ, बाँकी ब्याक्टेरियाहरू औषधिप्रति प्रतिरोधी बन्छन्। यो अवस्थालाई ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ भनिन्छ। यस्तो भएमा चिकित्सकले सिफारिस गरेको औषधिले काम गर्न छोड्छ, र बिरामी निको हुन लामो समय लाग्नुका साथै अस्पताल भर्ना र ठूलो खर्चको बाध्यता आउँछ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, यो समस्या विश्वव्यापी स्वास्थ्य चुनौती बनिसकेको छ।

संक्रमण फैलिने जोखिम:
विशेषगरी टिबी (क्षयरोग) जस्ता संक्रामक रोगमा एन्टिबायोटिकको डोज पूरा नगर्दा ब्याक्टेरिया फोक्सो, मस्तिष्क, हड्डी, मिर्गौला जस्ता अंगहरूमा फैलिन सक्छ। यस्तो अवस्थामा रोग झन् खतरनाक बन्छ र अरूलाई पनि सर्ने सम्भावना बढ्छ।

# किन पूरा डोज खानुपर्छ?
एन्टिबायोटिक सुरु गरेपछि पहिलो केही दिनमा धेरै ब्याक्टेरिया मर्छन्, जसले लक्षणहरूमा सुधार ल्याउँछ। तर, केही बलिया ब्याक्टेरिया बाँकी रहन सक्छन्। यदि औषधि बीचमै छोडियो भने यी ब्याक्टेरियाहरू पुनः सक्रिय हुन्छन् र संक्रमण दोहोरिन्छ। पूर्ण डोज लिँदा यस्ता ब्याक्टेरियाहरू पूरै नष्ट हुन्छन्, जसले रोग जटिल हुनबाट जोगाउँछ र भविष्यमा पनि औषधिले प्रभावकारी काम गर्छ।

# एन्टिबायोटिक कहिले र कसरी लिने?
अनावश्यक प्रयोग नगर्नुहोस्: सामान्य ज्वरो, टाउको दुखाइ वा रुघाखोकी जस्ता भाइरल संक्रमणमा एन्टिबायोटिकको कुनै काम हुँदैन। यस्तो बेला पारासिटामोल जस्ता औषधि पर्याप्त हुन्छन्।
चिकित्सकको सल्लाहमा मात्र: ब्याक्टेरियल संक्रमण (जस्तै: घाँटीको संक्रमण, पिसाब नलीको समस्या, सेप्सिस) का लागि चिकित्सकको सिफारिसमा मात्र एन्टिबायोटिक लिनुपर्छ। सिफारिस भए पनि पूरा डोज अनिवार्य छ।

# एन्टिबायोटिक: वरदान कि अभिशाप?
एन्टिबायोटिक आफैंमा नराम्रो होइन। यो औषधिले ब्याक्टेरियाले निम्त्याउने गम्भीर संक्रमण रोक्छ, रोग फैलिनबाट जोगाउँछ र जटिलताहरू कम गर्छ। तर, यसको गलत प्रयोगले ब्याक्टेरियालाई प्रतिरोधी बनाउँदा सानो समस्याको उपचार पनि असम्भव हुन सक्छ। उदाहरणका लागि, यदि सामान्य संक्रमणमा पनि एन्टिबायोटिकले काम नगरेमा कडा र महँगो औषधिको प्रयोग गर्नुपर्ने हुन्छ।

# कुन अवस्थामा एन्टिबायोटिक जरुरी छैन?
भाइरल संक्रमण: रुघा, खोकी, ज्वरो, ब्रोन्काइटिस जस्ता समस्यामा एन्टिबायोटिकले काम गर्दैन।
सामान्य ब्याक्टेरियल समस्या: साइनसको हल्का संक्रमण, झाडापखाला वा कानको सामान्य दुखाइमा पनि यो आवश्यक नहुन सक्छ।

समाधान र सचेतना के हुन सक्छ त ? 
चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक नलिनुहोस्। तोकिएको डोज र समय पूरा गर्नुहोस्। औषधिको प्रयोगबारे जनचेतना फैलाउनुहोस्।अस्पताल र फार्मेसीहरूले पनि जथाभावी बिक्री नगर्ने नीति लागू गर्नुपर्छ। एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण हरेक वर्ष विश्वभर लाखौं मानिसको मृत्यु भइरहेको छ। यदि यो समस्या नियन्त्रण नगरेमा सन् २०५० सम्ममा वार्षिक १ करोडभन्दा बढी मृत्यु हुने अनुमान छ। नेपालमा पनि यो समस्या बढ्दो छ, जहाँ चिकित्सकीय परामर्शबिना औषधि किन्ने र अधुरो छोड्ने प्रवृत्ति आम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *