Monday, June 15

१६औं विश्व योगासन खेलकुद प्रतियोगितामा नेपाली विद्यार्थीको शानदार प्रदर्शन

काठमाडौं। मलेसियाको साइबरजया स्थित लिम्कोकविङ विश्वविद्यालयमा हालै सम्पन्न १६औं विश्व योगासन खेलकुद प्रतियोगितामा नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

अन्तर्राष्ट्रिय योग खेलकुद महासंघ (IYSF) को आयोजनामा अप्रिल ५ र ६ मा भएको यो प्रतियोगितामा नेपालसहित ४० देशका खेलाडीहरूले सहभागिता जनाएका थिए।


प्रतियोगितामा नेपालका तर्फबाट ३० जना विद्यार्थी सहभागी थिए। विभिन्न उमेर समूहमा धेरै नेपालीले पुरस्कार जित्न सफल भएका छन् । ९-११ वर्ष उमेर समूहका बालकतर्फ एसिया प्यासिफिक स्कूल धापासीका प्रयास जंग चौहानले प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरि रोजमेरी आइडल बोर्डिङ स्कूलका अमिस पटेलले दोस्रो र नेपालकै किरण मगरले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यस्तै, १२-१४ वर्ष उमेर समूहको बालिकातर्फ रोजमेरी आइडल बोर्डिङ स्कूलकी प्रत्यूषा खतिवडाले प्रथम स्थान जितेकी छिन । १२-१४ वर्ष उमेर समूहकै बालकतर्फ भने एसिया प्यासिफिक स्कूल धापासीका बबिन श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा ९-११, १२-१४ र १५-१७ वर्ष उमेर समूहका बालक/बालिकाका वर्गहरू समावेश भएका थिए।

नेपाल योग खेलकुद संघको समन्वयमा सहभागी भएका यी विद्यार्थीहरूले आफ्नो मेहनत र समर्पणले यो सफलता प्राप्त गरेको बताएका छन्।  नेपालबाट सहभागी विद्यार्थीहरूको यो उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व र योगप्रतिको लगावलाई थप बलियो बनाएको छ।

योगलाई खेलकुदको रूपमा प्रवर्द्धन गर्दै युवा पुस्तामा शारीरिक र मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्य प्रतियोगिताले राखेको थियो।प्रतियोगिताको आयोजक मलेसियन योगासन र मल्लखम्ब संघ (MYMA) ले यो संस्करणलाई अहिलेसम्मकै भव्य र सफल भएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *