Monday, June 15

हरेक वर्ष चैत २८ गतेलाई ‘मोही दिवस’ का रूपमा मनाउने अभियानको शुभारम्भ

नियमित मोही सेवनले स्वस्थ र ऊर्जावान् जीवन’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल डेरी एसोसिएसनले काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी हरेक वर्ष चैत २८ गतेलाई ‘मोही दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ। यो अभियानको शुभारम्भ आजदेखि भएको हो।

लामो समयदेखि परम्परागत दुग्धजन्य पदार्थहरू जस्तै मोही, दही, लस्सी र आइसक्रिमको प्रवर्द्धनमा सक्रिय रहेको यो एसोसिएसनले आफ्ना हरेक कार्यक्रममा कृत्रिम पेय पदार्थको सट्टा स्वदेशी उत्पादन मोहीलाई प्राथमिकता दिँदै आएको छ। पछिल्लो दुई वर्षयता अस्पताल, विद्यालय र सामुदायिक संस्थाहरूमा निःशुल्क मोही वितरणलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ।

दरबारमार्गको एक क्याफेमा प्रत्येक शनिबार बिहान ७ देखि ११ बजेसम्म मोही वितरण गर्ने यो अभियानले हालसम्म करिब २ लाख व्यक्तिलाई २५ हजार लिटर मोही वितरण गरेको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए। उनले मोहीलाई परम्परागत लुकेको पेयबाट स्वास्थ्यवर्द्धक र गर्वका साथ प्रस्तुत गर्न सकिने पेयका रूपमा स्थापित गर्ने अभियानले सफलता पाइरहेको दाबी गरे।

हाल बजारमा दुई दर्जनभन्दा बढी डेरी उद्योगले लेबलिङ र प्याकेजिङसहित मोही उपलब्ध गराइरहेका छन्। दैनिक २५ हजार लिटर मोही बजारमा खपत हुने गरेको छ भने अनौपचारिक रूपमा प्रयोग हुने मोहीको परिमाण झन्डै १ लाख लिटर रहेको एसोसिएसनको अनुमान छ।

कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक पशुपति ढुंगानाले उत्पादित दूधको पूर्ण उपयोग हुन नसकेको अवस्थामा मोहीजस्ता दुग्धजन्य उत्पादनलाई विकल्पका रूपमा अघि बढाउन सकिने बताए। उनले संस्थानले भविष्यमा यस क्षेत्रमा थप ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले मोही अभियानले सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै यो पेय अब गाउँघरको सीमितताबाट माथि उठेर शहरी जीवनशैलीमा समाहित भएको बताए। उनले मोहीलाई स्वास्थ्यप्रद र सम्मानका साथ पस्कन सकिने पेयका रूपमा विकास भएकोमा खुसी व्यक्त गरे।

यो कार्यक्रम नेपाल डेरी एसोसिएसनको संयोजनमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र (एफएनसीसीआई), अनाज, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ र रोटरी क्लब अफ कपनले संयुक्त रूपमा आयोजना गरेका हुन्।

यो अभियानले स्वदेशी दुग्धजन्य पदार्थको महत्वलाई उजागर गर्दै स्वास्थ्य र परम्परालाई जोड्ने एउटा सशक्त पहलको रूपमा अगाडि बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *