Thursday, May 28

मतदाताको उपस्थिति नहुँदा दाङका दुई मतदान केन्द्रमा मतदानमा ढिलाई

घोराही, फागुन २१ । मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन। बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलईमा मतदान सुरु हुन सकेको छैन।

मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाताको उपस्थिति नहुँदा मतदान केन्द्रमा खालि अवस्था देखिएको जनता आधारभूत विद्यालय जिल्लाका मतदान अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार जनता आधारभूत विद्यालय जिल्लामा ६८२ मतदाता छन्।

त्यसैगरी, वडा नम्बर ७, तल्लो मलै खोला स्थित देउती मावि मलै खोलामा पनि अहिलेसम्म मतदान सुरु भएको छैन। बबई गाउँपालिका–१ र ७ अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान लिइरहेका छन्।

उक्त क्षेत्रका मतदातालाई निर्वाचनमा सहभागी गराउने प्रयास भए पनि अहिलेसम्म मतदानमा सहभागी नहुने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो।

आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडितहरूले दाङ मध्यवर्ती बबई–७, देउती मावि मलई मतदान केन्द्र र बबई–१ जनता आधारभूत विद्यालय मतदान केन्द्रमा अहिलेसम्म मत हाल्नुभएको छैन। मतदाता नआएपछि मतदान केन्द्र सुनसान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *