Saturday, April 18

टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ

काठमाडौँ, २८ असोज । काठमाडौँको टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गरिएको छ ।टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्मित सो भवनको आज जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गर्नुभयो ।

“स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवाप्रवाह गर्न आग्रह गर्दछु,”– उहाँले भन्नुभयो । टोखा नगरपालिकाका प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको भन्दै सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले छरिएर रहेको सेवालाई नयाँ भवन निर्माणसँगै एकै ठाउँबाट प्रवाह गरिने बताउनुभयो । विस २०७६ माघ १२ गते सम्झौता भएर विस २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जग्गा, स्रोत साधनका अभावका कारण समयमै निर्माण सम्पन्न गर्न कठिन भएको बताउनुभयो ।

विस २०७८ सालमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उक्त भवन दुई वर्ष ढिला गरी विस २०८० असार २५ गते सम्पन्न भएको थियो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।