Wednesday, April 15

अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजना पक्राउ

रुपन्देही- फार्मेसीमा बसेर अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३, रानिगाउँबाट संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययन भन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषयमा खेलवाड गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जनाकारी दिनुभयो ।

पक्राउ परेका आचार्य फार्मेसी संचालक भण्डारीका ज्वाइ नाता पर्ने व्यक्ति भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबैजनालाई अनुसन्धान पछि प्रचलित कानून अनुसार कारबाही गरिने अनुगमन समितिले जनाएको छ ।