
१० असार, काठमाडौं । टोखा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामांग ले संविधानको धारा २३० वमोजिम आज सो बजेट प्रस्तुत गर्नु भएको हो ।
नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामांगले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गर्नु भएको थियो ।

नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७0 करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( ६१.०१ प्रतिशत) रकम बिनियोजन गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व वाँडफाँडवाट रु. ५८ करोड ६७ लाख ६ हजार, प्रदेश सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडवाट रु. १२ करोड ५८ लाख ७३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रु. २३ करोड ,आन्तरिक एवं अन्य आयवाट रु. ३२ करोड ८८ लाख २१ हजार, जनसहभागिताबाट ७५ लाख र चालु आर्थिक बर्ष बाट अल्या हुने रकम रु. ४२ करोडलाइ खर्च गर्ने योजना बनाएको छ ।
उद्यम विकास, संस्कृति परम्पराको जगेर्ना तथा पर्यटन प्रवर्द्धन,करको दरमा पुनरावलोकन तथा दायरा विस्तार मार्फत आन्तरिक राजस्व परिचालनमा बृद्धि,लक्षित बर्गको सशक्तिकरण मार्फत आर्थिक, सामाजिकस्तरमा परिवर्तन,शिक्षा,स्वास्थ्य,सामाजिक सुरक्षा, सूचना प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह तथा सुशासन प्रवर्द्धन ,द्वीगो पूर्वाधार निर्माण जस्ता बिषयहरु माथि आर्थिक बर्ष ०८१/८२ को बजेटमा प्राथमिकता दिइएको छ ।
आर्थिक बर्ष ०८१/८२ मा उपमेयरसंग बालबालिका, मेयर उज्यालो कार्यक्रम , जनता सुरक्षा कार्यक्रम जस्ता कार्यक्रमहरु लाइ निरन्तरता दिएको र यसै बर्ष संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त हुने अनुदानमा निर्भर रहेको राजस्व संरचनालाई परिवर्तन गरी आन्तरिक राजस्वको हिस्सा वढाउने र राजस्वको दायरा विस्तार गर्ने लक्ष्य नगरपालिकाले लिएको आज बजेट प्रस्तुत गर्दै जानकारी दिइएको छ ।
पन्ध्रौ अधिवेशन अन्तर्गतको दोश्रो आजको बैठकमामा नगर उप-प्रमुख तामांग ले आर्थिक बर्ष २०८१/०८२ को बजेट वक्तव्य, टोखा नगरपालिका को बिनियोजन बिधेयक २०८१, आर्थिक बिधेयक २०८१ आदि प्रस्तुत गर्नु भएको थियो साथै आज सार्वजनिक जग्गा संरक्षण समितिको प्रगति प्रतिबेदन पनि प्रस्तुत भएको थियो ।

नगरपालिकाले गत असार ७गते पन्ध्रौ अधिवेशन अन्तर्गतको पहिलो बैठक गर्दै आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
