Saturday, October 24

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड,सबै नाका बन्द

३० असार, काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ ।

नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरु छाडिएको छैन ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार नागढुंगा तथा मुग्लिन–नारायणगढ चल्ने सवारी साधनलाई रोक लगाइएको छ । यस्तैचितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ ।

यसैगरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै गरिने सवारी यात्रामा पनि रोक लगाइएको छ ।

फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक बन्द गरिएको छ । कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सडक पनि बन्द भएको हो ।

हिजो रातभर परेको वर्षाले यात्रामा जोखिम बढेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।मंगलबार बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जोखिम विश्लेषणपश्चात मात्रा सवारी सूचारु गरिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै पहिरोको जोखिम रहेको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्म सवारीसाधनहरूलाई आवागमनमा रोक लगाएको थियो ।