Saturday, October 24

नेपाल–अमेरिका बिजनेस समिट हुने

३१ असार, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार,लगानी,उद्यमशीलता,नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेस्टमेन्ट समिट (एनएबीआईएस) आयोजना गर्ने भएको छ ।

सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना हुने तीन दिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन ‘पूँजी,बिचार र अवसरलाई जोड्ने’नाराका साथ सञ्चालन हुने बताइएको छ ।

समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि,व्यवसायी,लगानीकर्ता,उद्यमी,नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने  छ ।

सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार,लगानी प्रवर्द्धन,प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ ।

समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले एनएबीआईएस एक साधारण सम्मेलन मात्र नभइ नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए ।

अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी,लगानीकर्ता,प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान,अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

समिट घोषणा कार्यक्रममा आधिकारिक वेबसाइट सार्वजनिक गर्दै दर्ता प्रक्रिया सुरु गरिएको आयोजकले बताएको छ ।

आयोजकका अनुसार स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न आवेदन दिन सक्ने भएका छन् ।