Saturday, October 24

नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

३१ असार,काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा सुरुङमार्ग’ यही साउनभित्रै सञ्चालनमा आउने भएको छ।

सडक विभागअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार अब केही दिनभित्रै उद्‌घाटनको मिति तय हुनेछ।

सुरुङमार्गको सम्पूर्ण काम सकिएकाले अहिले सञ्चालनको तयारी भइरहेको आयोजनाले जनाएको छ।

काठमाडौंको नागढुंगाबाट धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ। सुरुवाती ठेक्का सम्झौतानुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन सकेको थिएन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास गरेका थिए। हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको थियो। जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी करिब २२ अर्ब लागतमा बनेको यो सुरुङमार्ग अब भने आयोजनाको काम सकिएर पनि सञ्चालनको तयारी गरिएको छ।

बोलपत्रमार्फत युसिन (एआरटी जेभी कम्पनीले एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन,व्यवस्थापन र मर्मतसम्भारलगायतको जिम्मेवारी पाएको छ।युसिन चिनियाँ कम्पनी हो भने एआरटी नेपाली कम्पनी हो।

आयोजनाका अनुसार नागढुंगा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ।

‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्यूआर कोड’ स्क्यानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ। डिजिटल प्रणालीबाट शुल्क भुक्तानी गर्नका लागि ‘आरएफआईडी कार्ड’ जारी गर्न एउटा निजी वाणिज्य बैंकसँग सम्झौता पनि भइसकेको छ।

आयोजनाका अनुसार कम्पनीले ३६५ दिनमा चौबिसै घण्टा यो सुरुङमार्ग सञ्चालन गर्नेछ।

नागढुंगा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको छ।

यो सुरुङ सञ्चालनमा आएपछि विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यका आवतजावतका लागि प्रयोग हुने यो बाटो करिब आधा घण्टा छोटिनेछ।

सरकारले सवारीसाधनको क्षमतानुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ।

कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट बाहिरिदा ६० तोकिएको छ। त्यसैगरी मिनीबस, मिनी टिपर, ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिदा ८० दस्तुर तोकिएको छ।

बस, ट्रक ९सिङ्गल रियर एक्सल० सवारीका लागि काठमाडौं प्रवेश गर्दा २६० दस्तुर तोकिएको छ। सोही सवारीसाधन काठमाडौंबाट बाहिरिदा २०० दस्तुर तोकिएको छ। मल्टिएक्सल ट्रक,सवारीसाधन,भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० दस्तुर तोकिएको छ। त्यसैगरी काठमाडौंबाट बाहिरिदा सोही वर्गका लागि भने २५० दस्तुर शुल्क तोकिएको छ।

आयोजनाका अनुसार पेट्रोलियम पदार्थ,ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका गाडी,दुई पांग्रे बाइक र तीन पांग्रे सवारीसाधन भने प्रवेश निषेध गरिएको छ।