Wednesday, April 15

२५३ विद्यार्थी लिएर इजरायलबाट नेपालतर्फ बिमान आउदै

काठमाडौँ- सरकारले इजरायलबाट नेपाली विद्यार्थीहरुलाई आज नेपाल ल्याउँदैछ ।यसक्रममा इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ ।जहाजमा विद्यार्थीहरुलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभएको थियो । इजरायलको तेल अभिभस्थित वेन गुरिओन विमानस्थलबाट जहाज उडेको परराष्ट्र मन्त्रालयले ट्वीट गरेर जानकारी दिएको छ ।

आज राति जहाज काठमाडौं आइपुग्नेछ ।विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद हिजो (बुधवार) राति इजरायल जानुभएको थियो ।शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।एक जना नेपालीको अवस्था अझै अज्ञात छ ।

इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन् ।विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्याङ्क छ । इजरायलमा हाल अध्ययन गरिरहेका दुई सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन् ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए । इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो ।

हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो । परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ ।

इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिने छ ।