Sunday, April 19

कोहलपुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन

बाँकेको कोहलपुरमा महिलाका लागि स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन निशुल्क शिविर सञ्चालन भएको छ । 

कोहलपुर नगरपालिका स्वास्थ्य शाखा र नगर अस्पतालको समन्वय तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको सहजीकरणमा शिविर आयोजना गरिएको हो ।

सो शिविरबाट कोहलपुरका २०७ जना महिलाको स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको कोहलपुर नगर अस्पतालका प्रमुख डा.रवि शर्मा वाग्लेले बताउनुभयो ।

उहाँले स्क्रिनिङ गरिएका मध्येमा पाँच जनामा भिआइए पोजेटिभ देखिएको बताउनुभयो । डा. वाग्लेका अनुसार शिविरमा क्यान्सर अस्पतालको विज्ञ चिकित्सकको टोलिले महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो ।

खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईको नेतृत्वको चिकित्सक टोलिमा मेडिकल अंकोलोजिष्ट डा.साजन थापा, युरोअंकोसर्जन डा.विपिन गुरागाईं, क्लिनिक अंकोलोजिष्ट डा.मुकेश यादव, पेडियाट्रिक अंकोलोजिष्ट डा.सुवास मेहता, गाइनेकोलोजिष्ट डा.अमिरुन निशा, मेडिकल अधिकृत डा.चिरञ्जीवि चालिसे, स्टाफ नर्स दिक्षारोशनी पुन, एलिना केसी र सिम्रन श्रेष्ठ रहनु भएको थियो । 

महिलामा पाठेघरको मुख र स्तन क्यान्सरको पहिचान गरी तत्काल उपचारमा सहजता होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनुभयो ।