सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए ।
मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
पोखरामा गितेन्द्र (जीबी) राईको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
