टोखा नगरपालिकामा राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभाग र नगरपालिकाको संयुक्त आयोजनामा आज राष्ट्रिय परिचय पत्र वितरण अभियान सम्बन्धि अभिमुखीकरण तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। टोखा नगरपालिका को सभाहल मा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख मुरारी तामांग लाइ प्रमुख अतिथि युबराज कटेलले परिचय पत्र दिएर वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभागका महानिर्देशक युबराज कटेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा बिभागका निर्देशक मुकेश केशरी र पर्ब प्रसाद सापकोटा, नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामांग ,प्रशासकीय प्रमुख शेरबहादुर बि सी , शिक्षा प्रमुख बाबुराम गौतम तथा नगरपालिका सबै वडाका वडाध्यक्षहरु साथै नगरपालिकाका कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, कर्मचारीहरु साथै अन्य संघ संस्थाहरुबाट पाल्नु भएका महानुभाबहरुको उपस्थिति रहेको थियो ।


नगरपालिकामा आजबाट शुरु भएको परिचय पत्र वितरण कार्यक्रमबाट नगरबासीहरुले परिचय पत्र प्राप्त गर्नका लागि नगरपालिका बाट फोटो खिचिएकाहरुले नगरपालिकामा सम्पर्क राखी र वडाबाट फोटो खिचिएकाहरुले सम्बन्धित वडामा सम्पर्क राखी वडाबाट नै परिचय पत्र प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।
टोखा नगरपालिकामा राष्ट्रिय परिचय पत्रको लागि अभियान मार्फत २०,१४७ को विवरण संकलन भएको छ ।
राष्ट्रिय परिचयपत्र नागरिकहरूको वैयक्तिक (Demographic) तथा जैविक (Bio metric) विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो। यो परिचयपत्र नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा जस्तैः राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद विक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न, बैंकमा खाता खोल्न तथा कारोवार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा, मोबाइलको सिमकार्ड लिन प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नु पर्ने र यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आम नागरिकको लागि आवश्यक छ ।





