Monday, August 24

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो ।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ ।

संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफुलाई गम्भिर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै स्थायी नियोग प्रतिनिधी एवं राजदुत लोक बहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भिररूपमा लिनुपर्ने बताए ।