
टोखा नगरपालिकाले सामाजिक समावेशिकरण शाखाको समन्वयमा चौंथो राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८१ मनाएको छ ।यसपटकको जेष्ठ नागरिक दिवसको नारा “सभ्य समाजको आधार, जेष्ठ नागरिक मैत्री घरपरिवार” रहेको छ ।
चौंथो राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८१ को अवसरमा आज नगरपालिकाको सभा हलमा आयोजित “जेष्ठ नागरिकका लागि भएका कानुनी प्रावधानहरु, कार्यान्वयन प्रक्रियामा देखिएका जटिलता र आगामी कार्यदिशा” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५० भन्दा बढि जेष्ठ नागरिकहरुले सहभागिता जनाएको सामाजिक समावेशिकरण शाखाका महिला विकास निरिक्षक पवित्रा पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा एजिङ नेपालका प्रमुख पवित्रा अधिकारीले जेष्ठ नागरिकको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारले गर्नुपर्ने भूमिका, जेष्ठ नागरिकहरुलाई सिकाई केन्द्र स्थापना, अवलोकन भ्रमण, जेष्ठ नागरिक अस्पताल निर्माणका विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख प्रकाश अधिकारीले शुल्क तिरेर बस्न मिल्ने व्यवस्थित केयर सेन्टर निर्माणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अधिकारीले निःशुल्क दिवा केयर सेन्टरहरु सञ्चालन गर्न सम्भव छैन । वडा–वडामा नागरिक र वडाको समन्वयमा पेयिङ केयर सेन्टरहरु खोल्न आवश्यक छ । बिदेसमा आफुले कमाएको पैसा बुढेसकालमा केयर सेन्टरमा बस्नका लागि जम्मा गरेर राख्छन् । सरकारलाई राजश्व अत्यधिक तिरेका कारण सरकारले पनि सुविधा दिने गरेको छ । नेपाल नबन्नुमा राजश्व तिर्न कोही चाँहदैनन् ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले शुभकामना मन्तव्य दिएका थिए । जेष्ठ नागरिकहरुले कार्यक्रममा बोल्दै ठाउँठाउँमा दिवा खाजाको व्यवस्थासहितको जेष्ठ नागरिक भवनको माग गरेका थिए ।
