
नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा आजदेखि ई-सिम सेवा लिन सकिने जनाएको छ । नेपाल टेलिकमको यो सुविधा एप र वेबसाइटबाटै पाइने भएको छ ।
मंगलबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् ।
उनले भनिन्, ‘अहिलेसम्म ग्राहकहरूले ई-सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।’
ई-सिम एक प्रकारको डिजिटल अर्थात् इम्बेडेड सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। ई-सिम प्रयोगमा आए पश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
