Monday, August 24

महिला टी–२० शृङ्खलामा नेपालको लगातार छैटौं हार : थाइल्याण्डले उचाल्यो उपाधि

नेपालको घरेलु मैदानमा जारी महिला टी–२० शृङ्खलाको उपाधि थाइल्याण्डले जितेको छ। अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो। थाइल्याण्ड शृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्षस्थानमा रह्यो।

यस्तै नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो। नेपाल भने प्रतियोगितामा अङ्कविहीन रह्यो। नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो।

नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोज्नुभएको थियो।

नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो। नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाउनुभयो।

बलिङतर्फ थाइल्याण्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिनुभयो।

८२ रनको विजयी लक्ष्य थाइल्याण्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। थाइल्याण्डका लागि कप्तान नारुइमोल चाइवाईले अविजित २७, नान्नापत खोन्चरोएन्कले २३ तथा नाट्टाया बुचाथमले ११ रन बनाउनुभयो। बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पूजा महतोले एक विकेट हात पार्नुभयो।

नेपाल यसअघि नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो। प्रतियोगिताका ६ खेलमा घरेलु मैदानमा नेपाल जितविहीन बनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *