
मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा रहेका छन् । व्यवसायिकरुपमा गरिएको मकै खेतिमा गभारो किरा लागेपछि बाली नै सखाप पार्ने हो कि भन्ने डरले किसान चिन्तित भएका हुन् । विशेष गरी जिल्लाको उत्तरी क्षेत्र चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, वृन्दावन नगरपालिकाका किसानले व्यवसायिकरुपमा मकै खेति गर्दै आएका छन् ।
हाल चन्द्रपुर पालिकाको वडा नम्बर १, ८, ९ र १० मा गभारोको प्रकोप अधिक देखिएको छ । यसैगरी वृन्दावन नपाको विश्रामपुर र बलेरी क्षेत्र, गुजरा नपाको जङ्गलसहिया, मैरा, भवानीपुर, र फतुवा विजयपुरको हिमालीबास, विजयपुर, रामदाशी लगायतको क्षेत्रमा गभारोको प्रकोप अधिक रहेको सम्बन्धित पालिकाका किसानको गुनासो छ ।
नगदेबालीकैरुपमा मकैको खेति गरिन्छ । किसानले अधिक उत्पादन हुने विभिन्न जातका ‘हाइब्रिड’ मकै लगाउने गरेका छन् । आधुनिकतबरले खेति गरिने हुँदा मकै प्रति कठ्ठा दुई/अढाई क्विण्टल उत्पादन हुने किसानहरु बताउँछन् । तर गभारोको आक्रमणले गर्दा मकै उत्पादनमा कमी आउने चिन्ताले किसान पिरोलिएका छन् ।
चन्द्रपुर नगरपालिकामा मात्रै करिब सात हजार हेक्टर जमिनमा हाइब्रिड मकै खेति हुने पालिकाको तत्थ्याङ्क छ । साना र कलिला मकैको गुभेपात मै गभारोले आक्रमण गर्नेहुनाले मककैको उत्पादनमा ह्रास आउने अधिक सम्भावना रहन्छ । माटोमै किटनाशक औषधीको प्रयोग गरी खनजोत गरेमा उक्त समस्या कमि हुने सम्भावना बिज्ञहरु देख्दछन् । गभारोले आक्रमण गरिसकेपछि भने किटनाशक औषधी प्रयोग गरि मात्र नियन्त्रणमा लिन सकिन्छ ।

