
काठमाडौँ – महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रलाई झिलिमिलि बत्ती, फूल र रङरोगनले सिँगार्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। बत्तीका कारण रातभर उज्यालो देखिने पशुपति क्षेत्र नेपालका राष्ट्रिय झन्डाको आकारमा सजाइएका बत्तीहरूले झन् आकर्षक बनेको छ।
पर्वको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिअन्तर्गत नौ वटा उपसमिति बनाई सुरक्षा, अनुगमन, स्वयंसेवा, स्वास्थ्य, साधुसन्त व्यवस्थापन, प्रचारप्रसार, आवास-भोजन, दर्शन तथा सरसफाइजस्ता विषयमा तयारी अन्तिम चरणमा पुर्याइएको छ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाका अनुसार महाशिवरात्रि पर्वलाई भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
