
नगरवासी जेष्ठ नागरीकका लागी निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गर्न टोखा नगरपालिकाले यो बर्ष पनि मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । टोखा ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रदान हुने गरि नगर प्रमुख प्रकाश अधिकारीले आज कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
टोखा ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको उद्घाटन कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख प्रकाश अधिकारीले सामाजिक उतरदायित्व अन्तर्गत यो कार्यक्रम संचालन भएको जानकारी गराउदै सबै तोकिए बमोजिमका नगरवासीले यो सेवा लिन सक्ने बताउनु भयो।
यसै गरि नगरपालिकाका प्रशासकीय अधिकृत शेर बहादुर बि सीले नगरपालिकाले संचालन गरेको यो कार्यक्रममा सहभागी भइ स्थानीय बासिन्दाले उच्चतम सुबिधा लिन सक्ने भएकाले निःशुल्क सेवालाई लक्षित बर्गका सबै माझ पुर्याउन नगरपालिका लागि परेको बताउनु भयो।
नगरपालिकामा स्थाई बसोबास भएका ५० वर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीक र लक्षितबर्गका लागि संचालित यो कार्यक्रम अघिल्लो बर्षहरुमा सहित गरि चौथो पटक संचालन भएको हो । यो चालु आ. व. मा पहिलो चरणमा १५०० जना सम्मलाइ सेवा प्रदान गरीने नगरपालिकाले जनाएको छ ।
नगर भित्र स्थाई बसोबास भएका जेष्ठ नागरीक सहित, एकल महिला, दलित, अल्पसंख्यक, सिमान्ताकृत, गरीव तथा विपन्न वर्गका नागरीकहरुले यो सेवा लिन सक्ने छन् । यो निशुल्क स्वास्थ्य सेवा लिन सेवाग्राहीले स्थाई बसोबास भइ तोकिएका बर्गमा परेको बिषय सहितको सिफारिसका साथ टोखा ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र जानु पर्ने व्यवस्था रहेको छ ।
अघिल्लो आ.ब. २०८०/०८१ को स्वास्थ्य परिक्षण सेवा कार्यक्रममा जस्तै नगरबासीका लागी बिभिन्न प्रयोगशाला सेवा सहित बिशेषज्ञ डाक्टर बाट स्वास्थ्य परिक्षण,परामर्श तथा रेफरल सेवाका साथै पुरुषहरु को प्रोस्टेट ग्रन्थिको क्यान्सर सम्बन्धि परिक्षण एबं महिलाहरु को भी आइ ए परिक्षण सेवा आदि संचालनमा ल्याइएको छ। साथै भिडिओ एक्सरेको सेवा तथा थाइराइड परिक्षण जस्ता परिक्षणका सेवा समेत ब्यबस्था गरिएको छ ।
हरेक बर्ष गर्दै आएको मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको तेस्रो पटक अघिल्लो बर्ष नगरपालिकाको दुइ स्थान, टोखा चन्डेश्वरि अस्पताल र टोखा ११ स्थित शहरी स्वास्थ्य क्लिनिक बाट बाट सेवा प्रदान गर्दा १५०० भन्दा बढी नगरबासीले प्रत्यक्ष सेवा लिई लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।
