
सार्वजनिक जग्गा संरक्षण कार्यका लागि टोखा नगरपालिकाले आफ्नो कार्य तिब्र रुपमा अगाडी बढाएको छ। नगर प्रमुखको सक्रियतामा नगर क्षेत्र भित्रका बिभिन्न ठाउँका सार्वजनिक जग्गालाइ पहिचान एबं नाप जांच गर्दै संरक्षणका लागि नगरपालिका अघि बढेको हो ।
नाप जांच गर्ने क्रममा आज टोखा १० स्थित महादेवटार महेन्द्रेश्वोर शिवालय परिसर आसपास नाप जांच गरिएको छ । मन्दिर परिसर वरिपरीका कित्ता नम्बर ६ र कित्ता नम्बर १२ मा नापजांच गरिएको हो ।

वडा १० का वडा अध्यक्ष मचाकाजी महर्जनको अध्यक्षतामा भएको आजको नापजाँच कार्यमा नगर प्रमुख प्रकाश अधिकारी,नगर प्रशासकीय अधिकृत शेरबहादुर बि सी ,नगर प्रबक्ता बच्चुराज बस्याल लगाएत नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि,प्रहरी तथा स्थानीयबासी हरुको उपस्थिति रहेको थियो ।

नापजाँच स्थलमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा सबैको साझा सम्पति भएकोले नागरिकहरुले नै यसको संरक्षण गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो साथै आवस्यक परेमा वडाले पनि कुनै संरचना बनाइ प्रयोग समेत गर्न सक्ने धारणा राख्नु भयो ।

यसै गरि नगरको बिकासका लागि सक्रिय नगर प्रशासकीय अधिकृत शेरबहादुर बहादुर बि सी ले सार्वजनिक जग्गालाइ मार्किंग गरि काडेतार लगाई संरक्षण गर्न तर्फ नगरपालिका लागेको र डी पी आर तयार गरि वडा कार्यालय तथा खुल्ला व्यायामशाला बनाउने जस्ता कार्य गर्न सकिने बताउनु भयो ।

साबिक गोंगबु ७ हाल टोखा वडा १० भित्र पर्ने ६ र १२ का दुइ कित्ता गरि लगभग ११ रोपनी ७ आना जग्गाको आज नाप जांच भएको थियो। बिहानै बाट शुरु भएको नापजाच कार्यमा नापजाँच टोलिलाइ साथ दिन स्थानीयबासीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

नगरपालिकाको पहलकदमीमा बिगतका समय देखि नै नगर क्षेत्र भित्रका सार्वजनीक जग्गाको खोजबिन,नापजांच संरक्षणका कार्यहरु सुरुवात गरि धेरै ठाउमा संरक्षणका कार्य समेत भै सकेको छ । खोला किनारका सार्वजनिक जग्गा लगाएत बिभिन्न ठाउँमा भएका र बिभिन्न व्यक्ति तथा संस्थाले नियन्त्रणमा लिएका, हडपेका तथा मिचेका सरकारी जग्गालाइ खालि गराउदै संरक्षण गर्ने तर्फ नगरपालिकाले सक्रिय रुपमा आफ्नो क्रियाकलाप अगाडी बढाएको छ ।

