
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूमि सम्बन्धी कानुन चाँडै आउने बताउनुभएको छ। शनिबार झापाको दमकमा कोशी प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
भूमिको समस्याका कारण धेरै समस्याहरू रहेको उल्लेख गर्दै केही समयभित्र नै भूमिका सम्बन्धी कानुन आउने उल्लेख गर्नुभयो। ‘‘भूमिहीन सुकुम्वासीको समस्या सामधान गर्नका लागि यो सरकार कटिबद्ध छ’’, उहाँले भन्नुभयो। अब आउने संसद अधिवेशनको शुरुवातमा नै भूमि सम्बन्धीको कानुन आउने प्रधानमन्त्री ओलीले दाबी गर्नु भयो।
यसैगरी प्रधानमन्त्री ओलीले कोशी प्रदेश र मूलकमा नै आधुनिक कृषि प्रणालीमा जोड दिएर उत्पादन बढाउन लाग्नु पर्नेमा जोड दिनुभयो। निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर अब उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह पनि गर्नु भयो। हामी परम्परागत खेतीप्रणालीबाट माथि उठ्न सक्दैनौ, उहाँले भन्नुभयो। कृषिको आधुनिकीकरण र मेसिनीकरण आवश्यक छ, उहाँको भनाइ थियो।
ओलीले कोशी प्रदेशमा अहिले ११ प्रतिशत गरिबी रहेको जनाउँदै यो गरिबीलाई शून्यमा झार्नका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइने बताउनु भयो। कोशी प्रदेशमा करिब ११ प्रतिशत जनता रहेकोमा आगामी ५ वर्षमा त्यसलाई शुन्यमा झार्ने गरी काम अघि बढाउँदै छौँ, उहाँले भन्नुभयो।
प्रधानमन्त्री ओलीले अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन यो सरकार लागि परेको बताउनुभयो। धेरै विकासका काम अधुरा अवस्थामा रहेकाले त्यसलाई पूरा गर्नका लागि आवश्यक बजेटको प्रबन्ध मिलाइने उहाँले बताउनु भएको हो। ‘‘हामी अपुरा विकास निर्माणका कामलाई पूर्णता दिन लागेका छौँ’’, उहाँले भन्नुभयो।
