Tuesday, May 26

टोखामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

स्थानीय तहको शान्ति सुरक्षा संग केन्द्रित रही  काठमाडौंको टोखा नगरपालिकामा  “स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह” सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आयोजना र टोखा नगरपालिकाको सहकार्यमा भएको यो कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन भएको  थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको सभाध्यक्षता रहेको थियो । टोखा नगरप्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि र उपप्रमुख मुरारी तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यसै गरि  जिल्ला सुरक्षा समितिका प्रमुखहरू, नगरपालिकाका प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सदस्यहरू, पत्रकारहरू र कर्मचारीहरूको बाक्लो उपस्थिति कार्यक्रममा  रहेको थियो।

नगरप्रमुख प्रकाश अधिकारीले समृद्ध र सुरक्षित टोखा निर्माणका लागि सबैको सहकार्य जरुरी रहेको बताउँदै नागरिक सेवालाई प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। सभाध्यक्ष ऋषिराम तिवारीले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि समुदाय, स्थानीय तह र प्रशासनबीच बलियो समन्वय आवश्यक रहेको जोड दिनुभयो। उहाँले पारदर्शी र उत्तरदायी सेवा प्रवाहका लागि सूचना आदानप्रदान र जनचेतनाको महत्वमाथि प्रकाश पार्नुभयो।

कार्यक्रममा अन्य वक्ताहरूले पनि सामूहिक प्रयासबाट शान्ति र सेवा प्रवाहमा सुधार ल्याउन सकिने र यस्ता कार्यक्रमले नागरिक, प्रशासन र स्थानीय तहबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक सचेतना फैलाउने विचार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *