
प्राचिन शहर टोखामा हरेक बर्ष हुने धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बिस्का नखः (जात्रा) आज सम्पन्न भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा अघिल्ला वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म बिस्का नखः (जात्रा) चलेको थियो ।
यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा बिस्का जात्रा सुरु भएको थियो । वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो । यस्तै वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो ।
रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ । रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर बिसाइएको थियो ।
यस्तै वैशाख ४ गते सानोलाछीबाट सिन्दूर जात्रा गरी गछेटोलमा लगेर रथ बिसाइएको थियो । उक्त स्थानमा बिसाएको रथलाई विधिवत रुपमा पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ ।
स्थानीय क्षेत्रमा हुने जात्रा भएकाले जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।
