
टोखा स्पोर्ट्स क्लबले चौथो नेपा वडा–२ अध्यक्ष खुला फुटसल प्रतियोगिताको विजेता बन्दै उपाधि जितेको छ । नेपा युवा क्लब चण्डेश्वरीले आयोजना गरेको यो प्रतियोगिताको फाइनलमा टोखाले बीवाईसी एफसीलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
जेठ ११ गते टोखा नगरपालिका–२, भत्केको पुलस्थित फ्रेन्ड्स फुटसलमा भएको फाइनल खेलमा टोखाले शानदार प्रदर्शन गर्दै ७० हजार रुपैयाँसहितको पुरस्कार हात परेको थियो । उपविजेता बनेको बीवाईसीले ३५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ बीवाईसीका महेन्द्र कार्कीले उत्कृष्ट खेलाडी र टोखाका सोनम तामाङले उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए । दुवैले जनही ४,५०० रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।
जेठ १० र ११ गते दुई दिनसम्म चलेको यो प्रतियोगिताको समापन समारोहमा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ र अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य मनीष जोेशीले विजेताहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
