Wednesday, December 17

अनुमति लिएर तोकिएको रेन्जभित्र मात्र रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति लिएर मात्र तोकिएको रेन्जभित्र मात्र रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न सरोकारवालालाई सूचित गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले सेलुलर/मोबाइल, माइक्रोवेब र स्याटलाइट सेवाका लागि बाँडफाँट गरिएका फ्रिक्वेन्सीहरू अनुमति प्राप्त गरेर तोकिएको रेन्जभित्र मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।

“दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८० मा सेलुलर/मोबाइल सेवा, माइक्रोवेब सेवा र स्याटेलाइट सेवामा प्रयोग गर्नका लागि बाँडफाँट (Allocation) गरिएका फ्रिक्वेन्सी प्रयोग गर्नुपर्दा प्रयोगको अनुमति लिएर अनुमति प्राप्त रेन्जभित्र मात्र उपरोक्त फ्रिक्वेन्सीको प्रयोग गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” प्राधिकरणले भनेको छ ।

बजारमा अनुमति नलिई तथा अनुमति पाएको भन्दा फरक प्रयोजनका लागि फ्रिक्वेन्सी प्रयोग गर्ने क्रम बढेको गुनासोपछि प्राधिकरणले यस्तो सूचना जारी गरेको हो । अवैध रूपमा इन्टरनेट सेवा प्रदान गर्न माइक्रोवेब उपकरणको प्रयोग गर्नेदेखि विदेशी स्याटलाइट सेवा प्रदायकहरूले अनुमति बिना नेपालमा आफ्नो सेवा विस्तार गर्ने तथा व्यक्तिगत वा संगठनात्मक प्रयोजनका लागि अनुमति बिना वाकी-टकी वा अन्य सञ्चार उपकरण प्रयोग गर्ने गरेको गुनासो बेलाबेला आउने गरेका गरेका छन् ।

कसैले अनुमति बिना वा गलत तरिकाले फ्रिक्वेन्सी प्रयोग गर्दा अनुमति लिएर सञ्चालनमा रहेका अन्य सेवाहरूमा असर पुग्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् । यसबाट मोबाइल नेटवर्कमा कल काटिने, इन्टरनेट स्लो हुने वा स्याटलाइट टिभीको सिग्नलमा समस्या आउन सक्छ । अर्कोतर्फ अनुमति बिना फ्रिक्वेन्सी प्रयोग गर्दा राज्यले राजस्वसमेत गुमाउपर्ने अवस्था आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *