
देशको पहिलो ललितपुरको ग्वार्को चोकमा निर्माण सम्पन्न ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । पटकपटक म्याद थप र प्राविधिक जटिलताका कारण ढिलाइ भएको यो परियोजना २०७८ फागुनमा शुरू भई २०८१ पुसमा सम्पन्न भएको हो। निर्माण लागत रु १७ करोडबाट बढेर रु ३१ करोड पुगेको छ, जसमा ठेकेदारले रु १ करोड ४७ लाख हर्जना तिरेको छ।
५७६.२ मिटर लामो र १६.४ मिटर चौडा यो फ्लाई ओभरले चार लेन सडक सञ्चालन गर्नेछ, जसले ग्वार्को चोकको ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ। तर, सातदोबाटोमा ट्राफिक चाप बढ्ने सम्भावना छ। ट्राफिक व्यवस्थापनका लागि अन्य चोकमा पनि यस्ता संरचना आवश्यक रहेको विज्ञहरूले सुझाएका छन्। सिसीटिभी र बत्ती जडान जस्ता बाँकी काम छिटो सक्न निर्देशन दिइएको छ।

