
काठमाडौं। तारकेश्वर–१०,लोकतान्त्रिक चोकमा संचालित शुभम इन्टरनेश्नल अस्पताल आजदेखि थप अत्याधुनिक सेवा सहित पूर्ण क्षमतामा संचालनमा आएको छ। “आधुनिक उपचार, आत्मीय सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ स्थापना भएको अस्पतालको नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले आज एक विशेष समारोहका बीच उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा पूर्वराष्ट्रपति डा. यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको सशक्त विकासले मात्र देश समृद्ध बन्ने धारणा व्यक्त गर्दै, २०४६ सालपछिको राजनीतिक परिवर्तनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याएको भए पनि अझै सन्तोषजनक अवस्था नपुगेको बताउनुभयो। उहाँले विदेशमा उपचारको बाध्यता अन्त्य गर्न यस्ता अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
यसै गरि कांग्रेस नेता एबं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य सेवा पुगे पनि गुणस्तरीय सेवा दिन नसकेकोमा चिन्ता व्यक्त गर्दै दक्ष चिकित्सकहरूको विदेश पलायन रोक्न राज्यले ठोस नीति ल्याउनुपर्ने बताउनु भयो ।
सांसद तथा पूर्व भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले अस्पतालको संचालनले तारकेश्वर र टोखा क्षेत्रका बासिन्दालाई टिचिङ तथा बिर अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो ।

नगर प्रमुख कृष्णहरि महर्जनले शुभम अस्पताललाई उत्तरी काठमाडौंको अब्बल अस्पतालको रूपमा चित्रण गर्दै सर्वसुलभ सेवा दिनेमा आफु बिश्वस्त रहेको कुरा व्यक्त गर्नु भयो ।
यसै गरि उपस्थित अन्य व्यक्तित्वहरु पूर्व नगर प्रमुख रामेश्वर बोहरा, वडा १० अध्यक्ष कुमार राई, समाजसेवी इन्द्रमान महर्जन लगायतले अस्पतालले स्थानीय भावना कदरका साथ सेवा विस्तार गर्दै सुबिधा प्रदान गर्नेमा आफुहरु बिश्वस्त रहेको व्यक्त गरेका थिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. केदारनरसिंह केसीले अस्पतालमा उपचारका लागि आएका कोही पनि बिरामी आर्थिक अभावका कारण फर्कनु नपर्ने र सबै गुणस्तर सहितको बिबिध सेवा दिन हस्पिटल तयारी रहेको साथै स्थानीयका लागि छुटको सुबिधा रहेको समेत बताउनु भयो ।

रु १५ करोडभन्दा बढी लगानीमा निर्माण भएको अस्पतालमा २४ शैयाको सुविधा छ। दुई वर्षअघि स्थापना भएको अस्पतालमा पहिले आकस्मिक सेवा, ल्याब, ओपीडी र फार्मेसी मात्र सञ्चालनमा थिए।
अबदेखि अस्पतालले २४ घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याब र डाइग्नोष्टिक सेवा, फार्मेसी, सामान्य तथा प्रमुख शल्यक्रिया, ICU, SDU, र रेडियोलोजी सेवा (एक्स–रे, ECHO, अल्ट्रासाउन्ड, कोलोनोस्कोपी, इन्डोस्कोपी) प्रदान गर्नेछ।
अस्पतालमा ७ वटा ICU बेड, २ वटा भेन्टिलेटर सहित दक्ष चिकित्सकहरूको टोली कार्यरत छ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक, सामाजिक, प्रशासनिक क्षेत्रका व्यक्तित्वहरू, चिकित्सकहरू, टोल सुधार समिति तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

