
टोखा नगरपालिकाले ग्राण्डी अस्पतालको पछाडि रहेको विष्णुमती करिडोर क्षेत्रका घर, टहरामा डोजर लगाएको छ । लामो समयदेखि व्यक्तिहरुले करिडोर क्षेत्रमा रहेका सरकारी जग्गा हडपेर घर टहरा बनाइ भाडामा लगाउँदै आएका थिए । नगरपालिकाले बारम्बार पत्र पठाएर खाली गर्न अनुरोध गर्दा पनि अटेर गरेपछि सोमबार बिहान २ वटा डोजर लगाइ भत्काइएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।
उनका अनुसार टोखाको मेरुदण्ड लाइफलाइन सडक निर्माणका लागि गत वर्षदेखि नै नयाँ बसपार्कदेखि बुढानिलकण्ठसम्म खोलाको दुबैतर्फ सार्वजनिक जग्गा तथा करिडोर मापदण्डमा परेका घर टहरा खाली गराउने लक्ष्यअनुसार सोही कार्यलाई निरन्तरता दिएको हो। नगरको सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार कुनैपनि सरकारी जग्गामा अनाधिकृत रुपमा बनेका घर टहरा पहिलो चरणमा विष्णुमती करिडोरमा खाली गराउन सुरु गरिएको र आगामी दिनमा अन्यत्र भएका सरकारी जग्गाहरु पनि नगरपालिकाको अधिनमा ल्याउने बिसीले बताए ।
