Monday, May 25

बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाठ

नेपालका लागि बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् । मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।

जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए । जानकी मन्दिरका सह महन्त रामरोशन दासले विधिविधानमा सघाएका थिए । यसपछि मधेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोजकुमार साहसहितले दुवैजनालाई बधाई दिएका थिए ।

राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए ।

‘गत वर्ष मधेशका विभिन्न स्थानहरूको भ्रमणका क्रममा मैले मिथिलाको सांस्कृतिक धरोहरको महत्त्व बुझेँ। यस क्षेत्रको अतुलनीय सौन्दर्यले मलाई यो वर्षगाँठ यहाँ मनाउन प्रेरित गर्‍यो’, राजदूत फेनले भने।

उनले जनकपुरलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न आफूले सक्ने प्रयास गर्ने बताए ।

उनले व्यक्तिगत पहल र बेलायती दूतावासको सहयोगमा नेपाल सरकारसँगको साझेदारीमा विभिन्न विकास परियोजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

जनकपुरधामलाई धार्मिक, सांस्कृतिक, र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा राजदूतको यो योगदानले अझ नयाँ ऊर्जा थप्ने विश्वास लिइएको बताए ।

नेपाल सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्यको रुपमा स्थापित गर्ने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *