
माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय व्यवसायी चाकु उत्पादनमा व्यस्त भएका छन्। यतिबेला टोखाको गल्ली र बजार मा तातो चाकुको मगमग बास्नाले आउने गर्दछ । माघेसङक्रान्ति पर्वमा तरुल, घिउसँगै खाने विशेष परिकार चाकु, तिलौरीलगायतका परिकार बन्ने टोखा क्षेत्रका बासिन्दाहरू यतिबेला परम्परागत मिठाइ चाकुका परिकार बनाउन व्यस्त रहेका छन् । 
जाडो मौसममा शरीरलाई आँतैदेखि तातो बनाउने चाकुका अनेकौँ परिकार किन्न खुद्रा तथा थोक विक्रेताहरूको पनि टोखामा घुइँचो छ । टोखाका चाकु व्यवसायी कृष्ण श्रेष्ठ टोखावासीको पुख्र्यौली पेसाका रूपमा चलिरहेको यो व्यवसायमा यतिबेला निकै चटारोसाथ काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार सक्खरलाई आगोमा पगालेर तिल, नरिवलका टुक्रा, बदामलगायतका विभिन्न खाद्यपदार्थ मिलाएर चाकु बनाइन्छ । श्रीकृष्ण चाकु प्रोडक्सन प्रालिका संस्थापकसमेत रहनुभएका श्रेष्ठले चिसो मौसममा शरीर तताउन बिरामी, रोगी, ज्येष्ठ नागरिकदेखि बालबालिकाले समेत खान मिल्ने परिकार बनाउने आफूहरू चौथो पुस्ता रहेको बताउनुभयो । 
टोखाको पहिचानका रूपमा स्थापित चाकु व्यवसायको प्रवर्धनका लागि “परम्परागत चाकु व्यवसाय संरक्षण समाज” गठन गरेर सो क्षेत्रका १४ चाकु व्यवसायी सङ्गठित भएका छन् । चाकुका विविध परिकार तयार गर्न मुख्य कच्चा पदार्थ सक्खरलाई आगोमा पकाएर त्यसमा मुराई, तिल, बदाम, नरिवलका धुलो, दुध, खुवा, अदुवाको रस, ल्वाङ, सुकुमेल आदि मिसाइन्छ भने सक्खरको झोलमा केही पनि नमिसाइ सादा चाकु पनि बनाउने गरिन्छ ।
नेपालमा विशेष गरी माघेसङक्रान्ति, योमरी पूर्णिमामा चाकुको परिकार खाइने भएकाले नेपालका सबै जिल्लामा पुग्ने चाकु विदेशसम्म पनि निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन् । नेपाली परम्परागत मिठाइका रूपमा खाइने चाकु अमेरिका, बेलायत, जापान, अस्टे«लिया, हङकङलगायत नेपाली गएर बसोवास गरेका थुप्रै देशमा जानेहरूले कोसेलीका रूपमा किनेर लैजाने गरेको उहाँ बताउनुहुन्छ । टोखा नगरपालिकाका वडा नम्बर २ र ३ मा अवस्थित परम्परागत बस्तीमा दसैँ तिहार पर्व सकिएलगत्तैदेखि चाकु बनाउन सुरु हुन्छ ।
