
आज देश भर माघे संक्रान्ति पर्व मानिदैछ। माघ महिनाको पहिलो दिन जसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पर्व समेत भनेर चिनिन्छ । फरक ठाउँ र फरक समुदायले फरक नाम र तरिकाले मनाए पनि ज्योतिष विज्ञानको मान्यता अनुसार यो दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने गर्दछ । यो जाडो यामको मध्य समयमा पर्ने पर्व हो तथापी यसले समय जाडो याम बाट गर्मि तर्फ बढ्दै गरेको परिवर्तनलाई संकेत गर्ने गर्दछ ।
माघे सङ्क्रान्ति लाइ नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले मनाइने गरिन्छ । यो समयमा चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने चलन रहेको छ।

यसै गरि मधेशमा मैथिल र थारुसमुदायहरुले यो चाड लाइ नयाँ वर्षका का रुपमा मनाउने गर्दछन । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।मगर जातिको पनि प्रमुख चाडको रुपमा माघे सङ्क्रान्तिलाई मानि राष्ट्रिय पर्वका रुपमा समेत मान्यता पाएको छ । मगरहरुले आजबाट तीन दिनसम्म धुमधामका साथ चेलीबेटी र पितृहरुको पूजा गर्ने गर्दछन् ।
समुदाय अनुसार फरक तरिकाले माघे संक्रान्ति मनाए पनि यस दिन धेरै सम्प्रदायमा चाकुको प्रयोग हुने गर्दछ । माघे संक्रान्तिमा खाइने प्रमुख मध्येको एक परिकार चाकुलाइ लिइने गरिन्छ । यो चाडमा चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड,खिचडी लगायतका बिबिध परिकारहरु बनाएर खाने चलन रहेको छ ।
सादा चाकु सख्खरबाट बनाइने गरिन्छ जसलाई स्वाद दिनका लागि नरिवल, काजु लगायतलाई पनि बाहिरबाट टाँस्ने तथा मिसाउने गरिन्छ । थप स्वाद दिन र मसलादार बनाउन चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाउने गरिन्छ ।

चिसो मौसमको बेला मानव शरीरमा पार्ने असरलाई रोकथाम गर्ने औषधीय गुण चाकुमा रहेने भएकाले माघे संक्रान्तिमा चाकु खाने चलन बढेको र सुरुवात भएको पाइन्छ । सांस्कृतिक महत्त्व र औषधि विज्ञानअनुसार पनि चाकुलाइ फाइदाजनक रुपमा हेरिन्छ । सुत्केरी महिला र शरीर कमजोर भएका बेला पनि चाकु खाएमा शरीरमा तागत दिने काम गर्ने मान्यता रहेको छ ।
काठमाडौं उपत्यकाका नेवार समुदायले मौलिक र परम्परागत ढंगले चाकु बनाउने गरेको पाइन्छ । काठमाडौंको टोखा, असन, इन्द्रचोक, भक्तपुरका विभिन्न स्थान र ललितपुरको पाटनलगायत क्षेत्रका स्थानीयवासीले चाकु बनाउँदै आएको पाइन्छ ।
चाकुको लागि प्रख्यात मानिने टोखामा बार्है महिना चाकु उत्पादन भए पनि पौष र माघ महिनामा बढी उत्पादन र खपत समेत हुने गर्दछ । देश का बिभिन्न ठाउ बिभिन्न कुराले प्रख्यात भए जस्तै टोखा चाकु ले प्रसिद्द छ ।
त्यसो त टोखा शब्द र चाकुको सन्दर्भ निकै महत्वपूर्ण छ । आजभन्दा करिब सय वर्ष अघिसम्म पनि टोखाको हरेक घरको अगाडि उखु बारी हुन्थ्यो। उखुलाई नेपालभाषामा ‘तु’ अनि खुला ठाउँलाई ‘ख्यः’ भनिन्छ। उखु फल्ने खुला ठाउँ भएकाले यसलाई ‘तुख्यः’ भनिन थाल्यो। त्यही ‘तुख्यः’ शब्द अपभ्रंश हुँदै अहिलेको ‘टोखा’ बन्न पुग्यो। चाकु बनाउन चाहिने सबैभन्दा प्रमुख कच्चा पदार्थ उखु हो । उखुलाई पेलेर रस निकालिन्छ। त्यो रसलाई नेपालभाषामा ‘साखःति’ भनिन्छ। त्यही साखःतिलाई पकाएर चाकु बनाइन्छ ।
उखु पेल्नेदेखि लिएर चाकु बनाउनेसम्मको एक पूर्ण काम सिध्याउन एउटा चक्र नै पार गर्नुपर्छ। त्यो एउटा चक्र समाप्त भएको दिन भोज खुवाउने चलन पनि छ। यसरी उखु उत्पादनदेखि त्यसलाई पेलेर चाकु बनाउनेसम्मको सम्पूर्ण काम एउटै थलोमा हुने भएकाले पनि टोखा चाकुको पर्यायवाची हुन पुगेको हो।
जाडो महिना को सुरुवात संगै टोखा मा चाकुको उत्पादन अधिक हुन थाल्दछ । यो समयमा चाकु बनाउन स्थानीयबासीहरु निकै ब्यस्त रहेको देखिन्छन । देश तथा विदेशमा समेत पुग्ने टोखाको चाकुले स्थानीय बजार देखि देशका मुख्य बजार हरुमा टोखाको चाकु भन्दै देशकै उत्कृष्ट चाकुको रुपमा बिक्रि वितरण भै रहेको देख्न सकिन्छ ।
