
नगर क्षेत्र भित्र रहेका सामुदायिक भवनको लगत संकलनका लागि टोखा नगरपालिकाले सक्रियता कायम राखेको छ । सार्वजनिक सम्पतिको रुपमा रहेका सामुदायिक भवनको लगत संकलनको लागि नगरपालिकाले आफ्ना एघारै वटा वडालाइ हालै मिति २०८१ माघ ९ गते पुनः ताकेताको पत्र जारि गर्दै आफ्नो सक्रियतालाइ निरन्तरता दिएको हो ।
नगरपालिकाले सार्वजनिक सम्पति संरक्षण गर्न र त्यस्ता सार्वजनिक सम्पतिलाइ नगरपालिकाको स्वामित्वमा ल्याई आवश्यक ब्यबस्थापान गर्ने सन्दर्भमा यो प्रक्रिया अगाडी बढाएको हो । यस अघि मिति २०८१ असार ०५ मा सामुदायिक भवनहरुको विवरण नगरपालिका कार्यालयमा २०८१ असार ०७ गते भित्र उपलब्ध गराईदिन सबै वडाहरुलाइ पत्राचार गरेको थियो ।
मिति २०८० जेष्ठ १६ गते बसेको चौधौं नगरकार्यपालिका बैठकको निर्णयानुसार सामुदायिक भवन को लगत संकलन तथा भाडादर निर्धारण समिति गठन भएको थियो । सो अनुसार गठित कार्यदलको मिति २०८१ असार ५ गते बसेको बैठकको निर्णयले सोहि दिन सबै वडाहरु लाइ आफ्नो वडा क्षेत्र अन्तर्गत रहेका सामुदायिक भवनहरुको विवरण ०७ गते भित्र नगरपालिकाको कार्यालयमा पठाउन पत्र जारि गरेको थियो ।
सार्वजनिक सम्पतिको सम्बन्धमा २०८१ असार १० गते सम्पन्न नगरसभाको पन्ध्रौ अधिवेशनले नगरपालिकाभित्र रहेका सामूदायिक भवनहरु नगरपालिकाको स्वामित्वमा ल्याई आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको थियो ।
नगरपालिकाले गत २०८१ साल असार ०५ गते सामूदायिक भवनहरुको लगत संकलन गरी पठाउने सम्बन्धमा सबै वडाहरुलाइ पत्राचार भएको भए पनि हाल माघ ९ गते सम्म पनि कुनै विवरण नआएकोले यथाशिघ्र सामूदायिक भवनहरुको विवरण सङ्कलन फारम भरी नगरपालिका कार्यालयको ईमेलमा पठाई दिनका लागि पुनः ताकेताको पत्र जारी गरेको छ ।

