Sunday, April 19

टोखा नगरपालिकाको गोंगबु–बानियाँटर पुलको आज उद्घाटन

टोखा नगरपालिकाको वडा नं. ११ र ८ जोड्ने गोंगबु–बानियाँटार पुलको आज एक समारोहबीच उद्घाटन गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले रिबन काटेर विष्णुमति खोलामाथिको यो पुलको औपचारिक उद्घाटन गर्नुभयो। यो पुलको शिलान्यास २०७९ चैत १९ गते भएको थियो।

उद्घाटन समारोहमा नगरप्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, प्रशासकीय अधिकृत शेरबहादुर बीसी, वडा नं. ११ का वडाध्यक्ष घनश्याम खड्का, वडा नं. ८ का वडाध्यक्ष रमेश खत्री, वडा नं. ५ का वडाध्यक्ष नरोत्तम राना, वडा नं. ७ का वडाध्यक्ष रामभक्त घिमिरे, कार्यपालिका सदस्यहरू, नगर सदस्यहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो पुल १४ मिटर लामो छ र यसको निर्माणमा कुल ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। नगरसभाले करिडोरसहित विभिन्न पुल निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरेकोमा यो पुल टोखा नगरपालिकाको ३ करोड ५८ लाख बजेटबाट निर्माण सम्पन्न भएको हो। पुल निर्माणको ठेक्का पुष्पाञ्जली/रालुकादेवी जेभी कम्पनीले लिएको थियो।

स्थानीय विद्यार्थी र बासिन्दाहरूको आग्रहलाई मध्यनजर गर्दै सानो पुललाई ठूलो बनाइएको हो। पहिले सानो पुलका कारण ट्राफिक जामको समस्या झेल्नुपरेको गुनासो स्थानीयले गरेका थिए। नयाँ र ठूलो पुलको निर्माणले अब ट्राफिक सहज हुने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख प्रकाश अधिकारीले टोखालाई समुन्नत र समृद्ध बनाउन आफू निरन्तर लागिपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीयको आवश्यकता र मागलाई प्राथमिकता दिँदै हामीले यो पुल निर्माण गरेका छौं। यो कार्यले टोखाको विकासमा थप टेवा पुग्नेछ।”

वडा नं. ८ का वडाध्यक्ष रमेश खत्री र वडा नं. ११ का वडाध्यक्ष घनश्याम खड्काले पनि पुल निर्माणले स्थानीयको दैनिकी सहज हुने र क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। यस्तै उपस्थित अन्य जनप्रतिनिधि तथा  वडाका वडाध्यक्षहरूले पनि यो परियोजनाको प्रशंसा गरेका छन्।

यो पुलले टोखा नगरपालिकाको यातायात सुविधालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूले पनि यो कार्यको स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *