Sunday, April 19

संसद्को भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक: राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन र विधिको शासनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ । यसका लागि सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति कार्यालयमा आज भएको अन्तर व्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीयता, सुशासन र विधिको शासनलाई मजबुत बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति जवाफदेही बनाउने गरी संसद्को भूमिकालाई प्रभावकारी बनाउने जिम्मेवारी तपाईंहरूको काँधमा छ ।”

उहाँले केही महत्वपूर्ण निर्माण कार्यमा ढिलाइ भएको र संसद्मा जनसरोकारका विषयमा पर्याप्त छलफल नभएको भन्ने गुनासो बाहिर आइरहेको उल्लेख गर्दै संसद्लाई जनताको सार्वभौम आवाज व्यक्त हुने थलोका रूपमा विकास गर्न सरकारलाई सुझाव दिनुभयो । “संसदीय अभ्यासबाट सिकेका कुरालाई आत्मसात् गरी आगामी दिनमा सक्षम, जवाफदेही र जनउत्तरदायी संसद् निर्माण गर्न तपाईंहरूबाट थप सक्रियताको अपेक्षा गरेको छु,” उहाँले थप्नुभयो ।

राष्ट्रपति पौडेलको निजी सचिवालयका अनुसार, संसद्ले प्रभावकारी कानुन निर्माण, बजेट तर्जुमा, नीति निर्धारण र जनताको आवाज बुलन्द गर्ने थलोका रूपमा आफूलाई स्थापित गर्नुपर्ने उहाँको मत छ । सङ्घीय संसद्ले समावेशी, दीर्घकालीन र विकासमैत्री कानुनी संरचना बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । “कानुन निर्माण र पारदर्शिता लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले संसद्को भूमिकालाई थप सशक्त बनाएर सङ्घीयताको सफल कार्यान्वयनका लागि तपाईंहरूको सहयोग अनिवार्य छ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *