
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १ गते नगरकोटको बतासे डाँडामा ‘नगरकोट भ्रमण वर्ष २०८२’ को उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धि र रोजगारीको आधार बनाउन पूर्वाधार विकास, कौशल वृद्धि र लगानीमैत्री वातावरण निर्माणमा जोड दिनु भयो। उहाँले नेपालको आर्थिक विकास, समावेशी समाज र संघीय लोकतन्त्रको सुदृढीकरणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो।
नगरकोटको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई प्रचार गरी ११ लाख पर्यटक (१ लाख आन्तरिक, १० लाख बाह्य) भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण, काठमाडौँको शंखरापुर, काभ्रेको मण्डन देउपुर र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम सुरु भएको हो। पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रमण वर्षले समग्र पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सांसद गोकुल बास्कोटा, मण्डन देउपुरका मेयर टोकबहादुर वाइबालगायतले स्थानीयलाई पर्यटन प्रवर्द्धनमा सहभागी गराउने प्रतिबद्धता जनाए। भ्रमण वर्षमा ५० भन्दा बढी स्टल, फुड स्टल, कृषि प्रदर्शनी, गुरुङ संग्रहालय र झाँकी प्रस्तुत गरिएका छन्। नगरकोटदेखि काठमाडौँसम्म सिधा बस सेवा सुरु भएको छ भने पर्यटकलाई मठमन्दिर, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको भ्रमण गराइनेछ।
नगरकोटको मनोरम हिमाली दृश्य, सूर्योदय र सूर्यास्तका लागि प्रसिद्ध यो क्षेत्र पछिल्लो समय पूर्वाधार अभावले ओझेलमा परेको छ। भ्रमण वर्षले नगरकोटलाई पर्यटकीय गन्तव्यका रूपमा पुनर्जागृत गर्ने आयोजकको लक्ष्य छ।

