
काठमाडौं । मातातीर्थ सवस्टेसनमा भूमिगत लाइन परीक्षणका क्रममा आगलागी भएपछि काठमाडौं उपत्यकामा वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति गरिएको छ।
आइतबार दिउँसो नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनको ११ केभी फिडर लाइनको ब्रेकर प्यानलमा आगलागी हुँदा केही क्षेत्रमा विद्युत् अवरुद्ध भएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आगलागीले प्रभावित अधिकांश क्षेत्रमा सोही दिनदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ।
स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी विद्युत् सेवा सुचारु गरिएको र बूढानीलकण्ठ तथा चपली सवस्टेसनबाट स्वीचगियर ल्याएर ब्रेकर प्यानल प्रतिस्थापन प्रक्रिया अघि बढाइएको शाक्यले बताए। उनले चन्द्रागिरि आसपासका सीमित क्षेत्रमा मात्र काम बाँकी रहेको र चाँडै आपूर्ति सहज हुने जानकारी दिए।
आगलागी ब्रेकर प्यानलको स्वीच सञ्चालनका क्रममा स्पार्कका कारण भएको प्राधिकरणले जनाएको छ। निर्माण ठेकेदारले जलेका उपकरण प्रतिस्थापन गर्ने जिम्मेवारी लिनुपर्ने शाक्यले बताए।
यो घटनाले भूमिगत केबल प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। प्राधिकरणले प्राविधिक त्रुटि पत्ता लगाई यस्ता घटना दोहोरिन नदिन जोखिम मूल्याङ्कन र सुधारका उपाय अपनाउने प्रतिबद्धता जनाएको छ।

