
काठमाडौं । टोखा भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा उपविजेता बन्दै ‘ए’ डिभिजनमा बढुवा हुने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो सफलताको कदरस्वरूप टोखा नगरपालिकाले क्लबलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ ।
जेठ १० गते सम्पन्न विशेष सम्मान समारोहमा नगर प्रमुख प्रकाश अधिकारीले क्लबको उपलब्धिप्रति गर्व व्यक्त गर्दै एक करोड रुपैयाँ सहयोगको घोषणा गर्नु भएको छ ।उहाले टोखा भगवती क्लबले स्थानीय र राष्ट्रिय स्तरमा टोखाको पहिचान स्थापित गरेको भन्दै आगामी दिनमा थप सहयोगको प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा उपप्रमुख मुरारी तामाङले क्लबको प्रगतिलाई प्रशंसा गर्दै भूतखेल मैदानलाई प्रशिक्षण र एकेडेमी सञ्चालनका लागि उपलब्ध गराउने बताउनु भएको छ । यो सुविधाले क्लबलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
लिगमा टोखा भगवतीले १३ खेलमा ७ जित, ५ बराबरी र १ हारसहित २६ अंक जोडेर उपविजेता बनेको थियो । यो प्रदर्शनले क्लबलाई ‘ए’ डिभिजनमा स्थान पक्का गरेको थियो ।
सम्मान समारोहमा नगरपालिकाले क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई खेल पोसाक र मायाको चिनो प्रदान गर्दै थप सफलताको शुभकामना दिएको थियो । यो सहयोग र सहकार्यले स्थानीय खेलकुदको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

