
पछिल्लो एक हप्तामा नेपालमा कम्तिमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका अधिकांश काभ्रे जिल्लाका रहेका छन्। धुलिखेलमा परीक्षणका क्रममा यी केसहरू पुष्टि भएका हुन्।
संक्रमितहरूलाई टेकु अस्पताल ल्याइएको छ। स्वास्थ्य मन्त्रालयले यी केसहरू नयाँ भेरियन्ट हुन् वा भारत र चीनमा देखिएको पुरानै भेरियन्ट हुन् भन्ने बारेमा अहिलेसम्म पुष्टि गरेको छैन।
सीमा नाका र हवाई नाकाहरूमा हेल्थ डेस्क राखेर परीक्षण तीव्र पारिएको छ।
मन्त्रालयले थप परीक्षणपछि मात्र नयाँ भेरियन्ट हो वा होइन भन्न सकिने जनाएको छ। प्रारम्भिक अध्ययनले नयाँ भेरियन्ट नभएको संकेत गरेको छ।
सतर्कता बढाइए पनि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले तत्काल डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । नियमित परीक्षण जारी छ, र सर्वसाधारणलाई सजग रहन तर आतंकित नहुन आग्रह गरिएको छ।
