Monday, January 19

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच मङ्गलबार यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरूबिच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवम् आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरूको सहभागी रहेको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।

मन्त्री डा. राणाले नेपाल र ओमानबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयमा कुरा गरेको र दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो ।

वार्तामा परराष्ट्र मन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गर्नुभएको थियो । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उहाँले आग्रह गर्नुभयो । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *