Wednesday, December 10

पार्टी कार्यालयबाट पक्राउ रास्वपा सभापति लामिछानेलाई पोखरा लगियो

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ पर्नुभएका पार्टी सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगेको हो। उहाँसँगै केही नेतासमेत अर्को गाडीमा पोखरा गएका छन्। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो।

सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछाने आफू छानबिनमा सघाउन जहिले पनि तयार रहेको बताउनुभएको छ। लामिछानेले आफूले यसअघि पनि यसखाले चुनौतीको सामना गर्नुपरेको भन्नुहुँदै सो कुरा बताउनुभएको हो।

लामिछानेले भन्नुभयो, “यो सरकारलाई भन्न चाहन्छु, अनुसन्धनमा सघाउन म तयार छु, साथीहरु सबै तयार छन्, हामी तयार छौं। तर, वर्षैसम्म एउटै व्यक्तिमाथि जुन जालझेल षड्यन्त्र भएको छ, यसका विरुद्ध प्रतिवाद हुन्छ। पक्राउ पूर्जी जारी गरेका छैनौं पनि भनिएको छ, विश्वस गर्ने आधार छैन। म छानबिनमा सघाउन जहिले पनि तयार छु।”

उहाँले कसैको राजनीति बन्न आफू बलिको बोका बन्नुपर्ने भन्दै प्रश्न पनि गर्नुभयो। उहाँले भन्नुभयो, “सहकारीमा कुनै पनि किसिमको कमजोरी भएको मानिसलाई कारवाहीको सिफारिस गरेको हो। कसैको राजनीति जोगाउन मैले बलिको बोका बनिदिनुपर्ने ? राजनीतिमा प्रतिशोध मानिँदैन। पञ्चायतमा यस्तो हुन्छ, हामीले सुनेका थियौं।”

उहाँले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई धन्यवाद ज्ञापन पनि गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो साथ, माया, विश्वास र भरोसाका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा सानो कुरा भन्छु, मैले केही बिराएको छैन। म डराएको पनि छैन। सबैलाई हेक्का रहोस्, रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएकालाई बचाएर आएको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *