
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने बताएका छन् ।
कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी एक नम्बर भए मात्रै सामाजिक न्याय र समाजवादको आधार तयार हुने बताए ।
अहिले देशैभरि माओवादीमा एकताबद्ध तथा समायोजन हुने लहर चलेको भन्दै प्रचण्डले अगाडी भने, ‘पर्सि झापा जाँदैछु । केपी ओलीको निर्वाचन क्षेत्रमा पनि हजारौं प्रवेश गर्ने तयारी छ ।’
भ्रष्टाचारको पक्षको यो सरकारले धेरै काम गरेको आरोप लगाउँर्दै उनले भने, ‘म तपाईंहरूलाई भन्न चाहन्छु गिरिबन्धुको फाइल खुल्ने छ, त्यसलाई लुकाउन दिइने छैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन । वाइडबडीको भ्रष्टाचार छोडिने छैन । यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ ।’
अर्को पल्ट माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुने भन्दै उनले भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुने बताए ।
