Wednesday, May 20

राष्ट्रपति पौडेलद्वारा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ।आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भएर उहाँले सो जात्रा अवलोकन गर्नुभएको हो।

गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ। मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *